International कनकाफ गोल्डकपः मेक्सिको र कोस्टारिका क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दावेदार मध्ये एकका रुपमा हेरिएको साविक विजेता मेक्सिको र कोस्टारिका लगातार दोस्रो जितका साथ जारी कनकाफ गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन् ।

लगातार दोस्रो जित हात पार्ने क्रममा समूह ए तर्फ मेक्सिकोले सुरिनामलाई २–० ले हरायो भने सोही समूहमा रहेको कोस्टारिकाले डोमिनिकन रिपब्लिकलाई २–१ पराजित गर्यो ।

त्यो नतिजापछि समूह ए मा समान २ खेलबाट ६–६ अंक जोडेका मेक्सिको र कोस्टारिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन् र क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवै खेलमा हार बेहोरेका डोमिनिकन रिपब्लिक र सुरिनाम गोलविहीन रुपमा तेस्रो र चौथो स्थानमा छन् र दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।

अब समूह चरणको अन्तिम खेलमा जुन २२ तारीखका दिन मेक्सिको ले कोस्टारिकासँग खेल्नेछ । यो खेलबाट समूह ए को विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ । त्यस्तै सोही दिन डोमिनिकन रिपब्लिक र सुरिनाम पनि प्रतिष्ठाका लागि भिड्नेछन् ।

 

Post Comments