International सन हियुङ मिनको ऐतिहासिक र दुर्लभ उपलब्धी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । सन् २०१५ मा जर्मन क्लब बायर लेभरकुसेनबाट चर्चित इङलिस क्लब टोटेनह्याम हट्सपरमा आवद्ध भएका दक्षिण कोरियाली सुपरस्टार सन हियुङ मिनले आफूलाई एसियाको मात्र नभएर विश्व कै उत्कृष्ट मध्ये एक खेलाडीका रुपमा उभ्याए ।

उत्कृष्ट प्रदर्शन गर्दागर्दै र उत्कृष्ट खेलाडी हुँदाहुँदै इङलिस क्लबमा आवद्ध भएको दशक बित्न लाग्दा पनि उनले टोटेनह्यामका लागि कुनै मुख्य उपाधि जित्न सकेका थिएनन् । तर, बुधबार राती कोरियाली स्टारका लागि त्यो मुख्य उपाधि जित्ने सपना पूरा भयो । त्यो, पनि ऐतिहासिक र दुर्लभ रुपमा ।

बुधबार अबेर राती प्रतिष्ठित युइएफए युरोपा लिगको फाइनलमा टोटेनेह्यामले म्यानचेष्टर युनाइटेडलाई १–० ले हराउँदै १७ वर्षपछि उपाधि उचाल्यो । यसअघि क्लबले सन् २००७–०८ को फुटबल लिग कप जितेको थियो । युरोपा लिगको उपाधि भने करिब ४० वर्षपछि उचाल्न सफल भयो । टोटेनह्यामले अन्तिमपटक सन् १९८४–८५ मा युरोपा लिग जितेको थियो ।

खैर, त्यो भन्दा पनि अविष्मरणीय र विशेष उपलब्धी भने सन हियुङ मिनका लागि रह्यो । बुधबार युरोपा लिगको उपाधि जितेसँगै टोटेनह्यामको क्लब इतिहास मै आफ्नो कप्तानीमा युरोपा लिग जित्ने पहिलो र एक्लो एसियाली (दक्षिण कोरियाली) खेलाडी समेत बने । यो उपाधि सन हियुङ मिनका लागि कति विशेष थियो भन्दा उनले जितपछिको खुशीमा मैदान मै आँसु रोक्न सकेनन् । सम्भवतः सन हियुङ मिनका लागि यो उपलब्धि आफ्नो करियर कै उत्कृष्ट र अविष्मरणीय उपलब्धी र उपाधि हुने निश्चित छ ।

Post Comments