News वालिङमा नवौं अरहान्त मेमोरियल कप शुरु
सुरज राना मगर

वालिङ । वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जाको आयोजनामा बुधबारदेखि नवौं अरहान्त मेमोरियल कप यु–१२ फुटबल प्रतियोगिता शुरु भएको छ ।

वालिङ खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन पर्वत इङलिस बोर्डिङ्ग स्कुल र भुपु सैनिक स्कुल, वालिङले समान अन्तरको जितका साथ विजयी शुरुवात गरेका छन् ।

पहिलो र उद्घाटन खेलमा पर्वतले सगरमाथा इङलिस बोर्डिङ स्कुललाई र भूपू सैनिकले शाइन भिलेज इन्टरनेशनल एकेडेमीलाई समान २–० को अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ्ग, आयोजक क्लबका कार्यवाहक अध्यक्ष सुबिन्द्र गुरुङ्ग, खेल संयोजक केशर बहादुर थापा (राजन) लगायतले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगितामा सहभागि कुल १२ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको प्रत्येक समूहको शिर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समान यही जेठ १० गतेका दिन हुनेछ ।

वालिङ कै पूर्व युवा खेलाडी अरहान्त थापाको स्मृतिमा उनको पिता कुमार थापा र सम्पूर्ण थापा परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments