
ललितपुर । दक्षिणकाली नगरपालिकालाई हराउँदै गाेदावरी नगरपालिका जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा बुधबार सम्पन्न दाेस्राे सेमिफाइनलको खेलमा दक्षिणकालीलाई पेनाल्टी सुट आउटमा ४-३ गाेल अन्तरले हराउँदै गाेदावरीले काठमाडौं महानगरपालिकासँगकाे भेट पक्का गरेको हाे ।
निर्धारित ९० मिनेटसम्म दुबै तर्फबाट २-२ गाेलकाे बराबरी भएपछि खेलकाे निर्णय पेनाल्टीबाट गरिएको हाे ।
सुरुवाती अग्रता दक्षिणकालिका अमित तामाङले खेलकाे १५ औं मिनेटमा गरे । खेलकाे ४९ औं मिनेटमा पासाङ तामाङले गाेदावरीका लागि बराबरी गाेल गरे । फेरि खेलकाे ८३औं मिनेटमा दक्षिणकालिका लागि नवीन कर्माचार्यले गाेल गर्दै अग्रता दाेब्बर पारे । खेलकाे अन्तिम समयमा अनिल बाेम्जनले गाेल गर्दै बराबरी गाेल गरे ।
यसअघि कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै काठमाडौंले दोस्रो पटक उपाधी जित्ने अवसर बनाएको छ ।
पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधी जितेको थियो ।
आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६ , ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ ।
अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ ।