ANFA रुपन्देहीमा दोस्रो मायादेवी कप शुरु
सुरज राना मगर

बसडिलवा । मायादेवी युथ क्लब, मायादेवी गाउँपालिका–८, रुपन्देहीको आयोजनामा यही असार २० गते शनिबारदेखि दोस्रो मायादेवी कप खुला सिक्स ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

मायादेवी–८ स्थित स्थानीय खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । जसमा, आयोजक मायादेवी युथ क्लब (ए) र एयरपोर्ट (ए) ले विजयी शुरुवात गरे ।

दिनको पहिलो खेलमा आयोजक मायादेवी ए ले वान शट एफसीलाई २–० ले हरायो । खेलमा मायादेवी (ए) का आदेश नेपाली म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा एयरपोर्ट (ए) ले मायादेवी ब्रेस्टलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा एयरपोर्ट (ए) का गोलरक्षक सोनु गुरुङ म्यान अफ द म्याच बने ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, मायादेवी गाउँपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष चोक बहादुर थापा, एक्सपर्ट ऐजुकेशन कन्सल्टेन्सीका व्यवस्थापक मनोज घिमिरे, होटल यात्री, भैरहवाका सञ्चालक कुमार पौडेल लगायतले संयुक्त रुपमा गरेका थिए ।

कुल ३२ टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने खेल संयोजक गणेश शाही ठकुरीले जानकारी दिए ।

Post Comments