बेलबारी । मोरङको बेलबारीमा जारी प्रथम कोशी प्रदेश स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा उदयपुरको गाईघाट फुटबल क्लबले इलामको रेड हर्स क्लबमाथि ३–० को प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
बेलबारी नगरपालिका–३ स्थित प्रस्तावित बेलबारी फुटबल क्लबको रंगशालामा शनिबार सम्पन्न खेलमा गाईघाटले पहिलो हाफमै दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। दोस्रो हाफमा थप एक गोल गर्दै गाईघाटले शानदार जित सुनिश्चित गर्यो।
गाईघाटको जितमा निस कुमार श्रेष्ठले दुई गोल गरे भने सबिन घिमिरेले एक गोल थपे। उत्कृष्ट प्रदर्शन गरेका सबिन घिमिरे प्लेयर अफ द म्याच घोषित भए।
स्कोरलाइन फराकिलो रहे पनि रेड हर्सले खेलभरि केही उत्कृष्ट अवसर सिर्जना गरेको थियो। तर गाईघाटका गोलरक्षक निम छिरिङ शेर्पा चट्टानझैँ उभिँदा इलामले कुनै पनि अवसरलाई गोलमा परिणत गर्न सकेन। शेर्पाले रेड हर्सका आधा दर्जनभन्दा बढी प्रहारलाई शानदार बचाउ गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे।