News चन्द्रगढी युथ क्लब फाइनलमा
गोलनेपाल

बेलबारी । मोरङको बेलबारीमा जारी प्रथम कोशी प्रदेश स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा चन्द्रगढी युथ क्लब झापाले बिर्तामोड युनाइटेड झापालाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

बेलबारी नगरपालिका–३ स्थित बेलबारी फुटबल क्लबको प्रस्तावित खेल मैदानमा शुक्रबार भएको खेलमा चन्द्रगढी युथ क्लबका लागि पहिलो हाफमा आकाश रायले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफभर दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि थप गोल भने हुन सकेन।

दोस्रो हाफमा चन्द्रगढीले पाएको पेनाल्टी अवसरलाई रोमन भुजेलले सदुपयोग गर्दै टोलीको अग्रता २–० बनाए। त्यसपछि खेल सकिन केही समय बाँकी रहँदा बिर्तामोड युनाइटेडका आशिष चापागाईंले बक्स बाहिरबाट गरेको उत्कृष्ट प्रहार सिधै जाली चुम्दै गोलमा परिणत भएपछि खेल २–१ को अवस्थामा पुगेको थियो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा चन्द्रगढी युथ क्लब २–१ को जितसहित फाइनलमा प्रवेश गर्न सफल भयो।

खेलको प्लेयर अफ द म्याच चन्द्रगढी युथ क्लबका डिफेन्डर आनोस मगर घोषित भए। अब दोस्रो सेमिफाइनलमा रेड हर्स एफसी इलाम र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ

Post Comments