News संघर्षपूर्ण जितका साथ अर्जेन्टिना प्रिक्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । संघर्षपूर्ण जित निकाल्दै साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा अर्जेन्टिनाले पहिलोपटक सहभागिता जनाईरहेको केप भर्डेमाथि ३–२ को रोमाञ्चक तथा संघर्षपूर्ण जित निकाल्यो ।

अर्जेन्टिनालाई त्यो जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपरेको थियो । यद्यपि खेलमा अग्रता अर्जेन्टिनाले नै बनाएको थियो । खेलको २९औं मिनटमा लियोनल मेसीले गोलको खाता खोलेका थिए । तर, ५९औं मिनटमा डेरोए डुर्टेले केप भर्डेका लागि गोल फर्काएका थिए ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको ९२औं मिनटमा लिजान्ड्रो मार्टिनेजले अर्जेन्टिनाका लागि दोस्रो गोल गरे । तर, फेरि पनि केप भर्डे खेलमा फर्कियो । १०३औं मिनटमा सिड्नी केबरलले दोस्रो गोल गर्दै खेल २–२ को स्थितिमा ल्याए ।

यद्यपि त्यो बराबरी गोलको खुशी केप भर्डेले धेरैबेर मनाउन सकेन । खेलको १११औं मिनटमा केप भर्डेले आत्मघाती गोल खान पुग्यो । डिने बोर्गसले आत्मघाती गोल गर्दा केप भर्डेको विश्वकप यात्रा अन्तिम ३२ मा टुंगिन पुग्यो । र, खेलमा अर्जेन्टिनाले ३–२ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्यो ।

अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अब जुलाई ७ तारीखका दिन इजिप्टको सामना गर्नेछ । इजिप्टले शनिबार बिहान मात्रै अष्ट्रेलियालाई हराएर अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो ।

 

Post Comments