
काठमाडौं। एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० फुटबलरलाई वुधबार नगद र छात्रवृत्तिसहित सम्मान गरेको छ ।
धुम्बाराहिस्थित स्कुलमा आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनहि १० हजार रुपिया र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अथिति दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
महिला फुटबलमा लगानी बृद्धि गर्नुपर्ने उल्लेख गर्दै प्रमुख अथिति रहेका काठमाडौं महानगरपालिका वडा नं.४ का वडाध्यक्ष दिनेश महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलार्य उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’
द इन्साइट भिजन स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठले भने, ‘हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै देशको प्रतीष्ठा बढाएका छन् । हामीले संभावना देखेरै उनीहरूलाई औपचारिक शिक्षामा पनि सहज तवरले अगाडि बढ्न सकोस् भनेर चार वर्षयता महिला फुटबलमा धेरैलाई छात्रवृत्ति दिएका छौं । अहिले साम्बासहित १० जनाले पूर्ण छात्रवृत्रिमा बीबीएस अध्ययन गरिरहेका छन् । यसरी नै हामी खेलाडीहरूको हौसला बढाउँदै जानेछौं ।’
‘शिक्षा हामी सबैका लागि महत्वपूर्ण हुन्छ,’ सम्मानपछि कप्तान सावित्राले भनिन्, ‘सबैले आ–आफ्ना क्षेत्रमा मिहिनेत गर्नुपर्छ । फुटबलसँगै औपचारिक शिक्षालाई अगाडि बढाउने अवसर दिएर इन्साइट भिजनले हामीलाई यहाँ उभिने अवसर दिएको छ । यसको लागि इन्साइट भिजन तथा राजधानी क्याम्पसलाई धेरै–धेरै धन्यवाद ।’ एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टिम तथा उमेर समूहका १४ जना फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।