International युइएफए महिला युरोः जर्मनी र स्वीडेन क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । लगातार दोस्रो जितका साथ समूह सी बाट आठपल्टको विजेता जर्मनी र स्वीडेन जारी यूइएफए महिला युरो च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणको आफ्नो दोस्रो खेलमा जर्मनीले डेनमार्कलाई २–१ ले हरायो भने सोही समूहको अर्को खेलमा स्वीडेनले पोल्याण्डलाई ३–० ले पराजित गर्यो । यसअघि आफ्नो पहिलो खेलमा स्वीडेनले डेनमार्कलाई र जर्मनीले पोल्याण्डलाई हराएको थियो ।

दुई खेलको नतिजापश्चात समान ६–६ अंक जोडेका स्वीडेन र जर्मनी समूह सी को पहिलो र दोस्रो स्थानमा छन् । र, एक खेल अगाडी नै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अंकविहीन डेनमार्क र पोल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् र समूह चरणबाटै बाहिरिएका छन् ।

समूह चरणको अब अन्तिम खेलमा १२ जुलाईका दिन स्वीडेन र जर्मनी भिड्ने छन् । यी दुई टोलीबीचको नतिजाले समूह सी को विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ । त्यस्तै सोही दिन डेनमार्क र पोल्याण्ड पनि प्रतिष्ठाका लागि भिड्नेछन् ।

 

Post Comments