News प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
गोलनेपाल

प्रशिक्षक प्याट्रिक डि वाइल्डले गरेका पछिल्ला सार्वजनिक टिप्पणी र विवादास्पद घटनाक्रमले उनी नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका उत्पन्न भएको छ।प्रशिक्षक प्याट्रिक उज्बेकिस्तानमा छनोट प्रतियोगिता सम्पन्न गरेपछि बेल्जियम फर्किए।

टोलीसँगै नेपाल नआउनु, उज्बेकिस्तानमा कप्तान चयनलाई लिएर देखिएको विवाद लगायतका घटनाले अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको तनाव झनै चर्किएको देखिएको छ।

हालसम्म एन्फाले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर, स्रोतका अनुसार एन्फा यस विषयमा आन्तरिक छलफलमा जुटेको छ र चाँडै नै पत्रकार सम्मेलन गर्ने तयारीमा रहेको बताइएको छ।

एन्फाका महासचिव किरण राईले प्रशिक्षक डि वाइल्डको सम्झौता एक वर्षको रहेकोले उनी फर्किएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए। तर, प्रशिक्षक वाइल्डले भने एन्फा भित्र आवश्यक सुधार नभएसम्म फर्केर नआउने अडान लिएका छन्।

पछिल्लो समय नेपालले नियुक्त गरेका प्रो लाइसेन्स प्राप्त प्रशिक्षकहरूमध्ये वाइल्ड एक हुन्। उनको सम्भावित बहिर्गमनले नेपाली राष्ट्रिय टोलीलाई प्राविधिक रूपमा ठूलो झड्का लाग्न सक्ने देखिन्छ।

विवादको सुरुवात हालै सम्पन्न छनोट प्रतियोगिताको पहिलो खेलबाट भएको थियो। प्रशिक्षक वाइल्डले कप्तान चयनका विषयमा व्यवस्थापनसँग मतभेद भएको उल्लेख गर्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेखेर घटनाक्रमबारे जानकारी गराएका थिए। व्यवस्थापक ब्रिन्दा देवान नेतृत्वको व्यवस्थापन पक्ष रेनुका नगरकोटीलाई कप्तान बनाउन चाहन्थे भने प्रशिक्षक वाइल्ड सांबा लाइ कप्तान बनाउन दृढ थिए।

खेलपछि सतहमा आएको यो विवाद अहिले व्यापक समस्याको रूपमा देखिन थालेको छ।

डि वाइल्ड नेपाल फर्कन्छन् वा एन्फाले नयाँ प्रशिक्षकको खोजी गर्छ भन्ने विषय अझै स्पष्ट छैन। यद्यपि यथार्थ के हो भने— व्यवस्थापनको अस्थिरता र आन्तरिक तालमेलको अभावले नेपाली फुटबलको प्रगति रोकिएको छ, त्यो पनि स्थायीत्व र संरचनात्मक सुधारको आवश्यकता उच्च रहेको समयमा।

Post Comments