अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
गोलनेपाल

काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा फुटबल प्रशिक्षक अनन्त थापाले अवसर पाए नेपाली प्रशिक्षकहरु पनि विदेशी प्रशिक्षकहरुभन्दा अब्बल रहेको बताएका छन् । यो कुरा उनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि विल्डेले एएफसी महिला एसियन कप छनौट प्रतियोगिता पछि कान्तिपुरलाई दिएको अन्तरवार्तामा एन्फाको व्यवस्थापन पक्षदेखि लिएर अन्य विविध कुराहरुमा समेत आफ्नो बयान र प्रतिक्रिया दिएपछि हाल नेपाली फुटबलमा त्यसले तरंग सिर्जना गरेको छ ।

विल्डेले उक्त अन्तरवार्तामा आफ्ना सहयोगीलाई कम्प्युटर चलाउन पनि नआएको तथा उज्वेकिस्तान विरुद्धको खेल अघि प्रधानमन्त्रीले भिडियो संवाद गरी नेपाली टिमलाई शुभकामना दिएको विषयबारे चर्चा गरेपछि अनन्त थापाले त्यसबारे आफ्नो प्रतिक्रिया दिएका हुन् ।

अनन्त थापाले विल्डे एउटा प्रो लाइसेन्स प्रशिक्षक भएर दिएको त्यो अभिव्यक्ति एउटा बहाना भएको बताएका छन् । साथै उनले प्रधानमन्त्रीले खेलाडीहरुलाई खेल अघि शुभकामना दिंदा त्यसले कुनै नकरात्मक असर नगर्ने बताए । अनन्त थापाका अनुसार टिमको जिम्मेवारी लिएपछि केही समस्या र वैचारिक मतभेद भए तापनि त्यसबारे पहिल्यै सम्बन्धित पक्षलाई जानकारी गराउनुपर्ने बताए ।

त्यति मात्र नभएर थापाले नेपाली प्रशिक्षकहरु विदेशी प्रशिक्षकभन्दा अब्बल हुनुका साथ कम्प्युटर राम्रोसँग चलाउन सक्ने र अंग्रेजी भाषामा पनि पोख्त रहेको बताए । साथै प्रशिक्षक प्याट्रिकले दिएको त्यस्ता अभिव्यक्तिले प्रो लाइसेन्स प्रशिक्षक कै गरिमा खस्किएको बताएका छन् ।

हेर्नुहोस प्रशिक्षक अनन्त थापाको फेसबुक स्टाटसः

 

Post Comments