ANFA भरतपुर मेयर कप : उपाधि जित्ने दुबै टिमको लक्ष्य
गोलनेपाल

चितवन । दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि जित्ने दुबै टिमले दाबी गरेका छन् । फाइनल अघि आज (आइतबार) को प्रि म्याच कन्फ्रेन्समा डन एकेडेमी र वाल्मीकि शिक्षा सदन दुबैले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् ।

मेयर कपको उपाधिका लागि सोमबार डन र वाल्मीकि भिड्दैछन् । डन पहिलो पटक मेयर कपमा सहभागी टिम हो भने दोस्रो पटक खेलिरहेको वाल्मीकि पहिलो पटक फाइनल प्रवेश गरेको हो । यसर्थ दुबै टिम पहिलो पटक फाइनल प्रवेश गर्दा नै उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।

डनका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम भोलि उच्च मनोबलका साथ मैदान उत्रिने बताए । उनले छनौट चरणदेखि नै टिमले मेहेनत गर्दै आएकोले फाइनलमा पनि नतिजा राम्रो आउने विश्वास व्यक्त गरे । उनले आफ्नो टिम आक्रमक शैलीमा मैदान उत्रिने बताए । कप्तान ले प्रतिद्धन्दीलाई कमजोर नआँक्ने तर उपाधि जित्ने दाबी गरे । पहिलो सहभागीतामा नै उपाधि जित्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

वाल्मीकिका प्रशिक्षक धुर्व भुसालले पहिलो संस्करणको मेयर कप खेलेका खेलाडीहरु यो पटक पनि टिममा रहेकोले त्यो अनुभव काम लाग्ने बताए । यो टिम फाइनलको अनुभव र दबाबसँग परिचित रहेकोले नजिता राम्रो आउने बताए । कप्तान एलेक्स गुरुङले वाल्मीकि उपाधि जित्नका लागि नै मैदान उत्रिने बताए । अघिल्ला खेलमा भएका कमजोरी फाइनलमा सुधार्ने उनको भनाइ थियो ।

फाइनल खेल भोलि दिउँसो ४ बजे भरतपुर ७ कृष्णपुरमा हुनेछ । डन आदिकवि भानुभक्त मावि तथा वाल्मीकि जनज्योति माविलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारी प्रतियोगितामा ७६ स्कुल सहभागी थिए ।

Post Comments