Gorkhalis Abroad झापा सुपर कप इजरायलको तयारी पूरा
गोलनेपाल

काठमाडौं । इजरायलमा रहेका नेपालीभाषी समुदायलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्यसहित आयोजना हुन लागेको झापा सुपर कप इजरायल २०२५ को पत्रकार सम्मेलन जुन २७ मा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व आयोजक क्लब झापा एफसी इजरायलका संस्थापक अध्यक्ष खेमराज जम्मर कट्टेलले गरेका थिए । प्रतियोगिताको टाइटल स्पोन्सर झापाली समाज इजरायलको तर्फबाट अध्यक्ष मुना अधिकारीबाट च्याम्पियन ट्रफी तथा पहिलो पुरस्कार आयोजकलाई हस्तान्तरण गरिएको थियो ।

पत्रकार सम्मेलनमा कप र मेडलको सार्वजनिक, खेल तालिका तयार र प्रतियोगिता सञ्चालनका नियमहरूको बारे जानकारी दिइएको थियो। प्रतियोगिता जुलाई १८, २०२५ मा आयोजना हुने निश्चित गरिएको छ।

प्रतियोगितामा इजरायलमा सक्रिय ८ वटा नेपाली भाषी फुटबल क्लबहरू सहभागी हुनेछन् । जसमा झापा एफसी इजरायल, कायापलट एफसी, केवाईसी एफसी, राईजिङ स्टार एफसी, मनिपुर गोरखा एफसी, सेभेन स्टार हाईफा, युनाइटेड दार्जिलिङ, लायन तेलअविव एफसी रहेका छन् ।

प्रतियोगितामा विजेता टिमलाई १० हजार ५ सय सेकल झण्डै नेपाली ४ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टिमले ५ हजार ५ सय (नेपाली २ लाख ५० हजार रुपैयाँ) सहित ट्रफी र मेडल प्राप्त गर्नेछन । साथै, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, टप स्कोरर, एमभिपि, राईजिङ स्टार लगायत विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछन्।

खेलकुदको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै झापा एफसी इजरायलले इजरायलमा स्थापित गोरखा क्रिकेट क्लबका संस्थापक अध्यक्ष राजु रिजाललाई १५ सेट जर्सी हस्तान्तरण पनि गरिएको थियो ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव राजेन्द्र उप्रेतीले गरेका थिए भने कार्यक्रममा सह-व्यवस्थापक विज्ञान नेपाल, कोषाध्यक्ष सुभास चापागाईं, टिम क्याप्टेन प्रकाश राजबंशी, खेलाडी मनोज गोले तामाङ लगायत आयोजक टोली र सहभागी क्लबहरुका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

Post Comments