News रुपन्देहीमा प्रथम मायादेवी कप शुरु
सुरज राना मगर


बसडिलवा । मायादेवी युवा क्लब, मायादेवी गाउँपालिका–८, बसडिलवाको आयोजनामा आइतबारदेखि प्रथम मायादेवी कप सिक्स ए साईड खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

मायादेवी–८, बसडिलवा स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक मायादेवी युवा क्लब (ए) ले एसओएस लुम्बिनी युथ क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गर्यो ।

मायादेवीको जितमा सन्जु सेन ठकुरी र रिजन रानाले गोल गरे । उता पराजित एसओएस लुम्बिनी युथका लागि बिन क्षेत्रीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, मायादेवी गाउँपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष चोक बहादुर थापा, आयोजक क्लबका अध्यक्ष कृष्ण बहादुर गुरुङ्ग लगायतले संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा प्रायोजकका रुपमा रहेका मायादेवी ब्रेस्ट केयर सेन्टरका प्रबन्धक डाक्टर सञ्जय पाण्डे, होटल यात्री, भैरहवाका प्रबन्ध निर्देशक कुमार पौडेल, एक्सपर्ट ऐजुकेशनका सञ्चालक मनोज घिमिरे, फ्युचर लाईट इङलिस स्कुलका प्राचार्य सौगात गुरुङ्ग, किंग्स क्याफेका सञ्चालक लगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।

आउँदो असार २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक गणेश शाही ठकुरीले जानकारी दिए । त्यसवाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक शाही ठकुरीले बताए ।

 

Post Comments