पालडाँडा । डि.वाई.डि.ए. दुम्कीबास नवलपरासीमा जारी पालडाँडा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बिहीबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा डि.वाई.डि.ए. ले पाहुना टोली एमएससी आसाम, भारतलाई २–१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पालडाँडा खेलमैदानमा भएको खेलमा डि.वाई.डि.ए.का लागि जेविन लामिछाने र नबिन थापाले गोल गरे । उता पराजित एमएससी आसामका लागि भने बिनित सिंहले गोल गरेका थिए ।
खेलमा म्यान अफ दि म्याच भने पराजित टोली एमएससी आसामका सागर लिम्बु घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १६ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल भैरव स्पोर्टस क्लब, नवलपरासी र डि.वाई.डि.ए. दुम्कीबास बीच हुने आयोजकले जानकारी दियो ।
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १९ गतेका दिन हुनेछ ।