२८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाइनल सम्पन्न
गोलनेपाल

रामेछाप। उमाकुण्ड गाउँपालिका–७, भुजि स्थित अमृत घामछायाँ खेल मैदानमा फुटबल क्लब भुजि (एफसीबी) को आयोजना तथा उमाकुण्ड गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको २८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरू सम्पन्न भएका छन्।

प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा गत संस्करणको विजेता लिभुरा एफसी र आयोजक फुटबल क्लब भुजि (एफसीबी) ‘ए’ बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा एफसीबी ‘ए’ ले ५–४ गोल अन्तरले जित हात पार्दै प्रतियोगिताको दोस्रो सेमिफाइनलिस्ट बन्न सफल भयो।

त्यस्तै, तेस्रो क्वाटरफाइनल खेलमा बाम्ती भण्डार र एनटी एफसीबीच प्रतिस्पर्धा हुँदा बाम्ती भण्डारले २–० गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल मिलनचोक युवा क्लब र साइपु एफसीबीच भएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा मिलनचोक युवा क्लबले ६–० गोल अन्तरको शानदार जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भयो।

यससँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ। भोलि हुने सेमिफाइनलका पहिलो खेलमा टिम जिरि र फुटबल क्लब भुजि (एफसीबी) ‘ए’ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा बाम्ती भण्डार र मिलनचोक युवा क्लब फाइनल प्रवेशका लागि आमनेसामने हुनेछन् र फाइनल खेल पनि भोलि कात्तिक १५ गते नै सम्पन्न हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ४८ हजार ८२८ सहित एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङशिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद रु. ७४ हजार ८२८ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

Post Comments