News रुपन्देहीको देवदहमा वार्डस्तरीय फुटबल प्रतियोगिता शुरु, वार्ड नम्बर २ (ए) को विजयी शुरुवात
सुरज राना मगर

देवदह । वडा खेलकुद विकास समिति, देवदह नगरपालिका–२, रुपन्देहीको आयोजनामा मंगलबारदेखि देवदह वार्डस्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

देवदह–३, रुपन्देही स्थित पुष्पानन्द गिरी स्मृति खेलमैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली वार्ड नम्बर २ (ए) ले उत्कृष्ट जितका साथ विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा उत्कृष्ट जित हात पार्ने क्रममा वार्ड नम्बर २ (ए) ले वार्ड नम्बर १२ लाई ३–२ ले हरायो ।

वार्ड नम्बर २ (ए) को जितमा राम बहादुर राकसकोटी, दिवस राना र जनक पुनले गोल गरे । उता पराजित वार्ड नम्बर १२ का लागि भने सुवास पुनले एक मात्र गोल फर्काएका थिए । खेलमा वार्ड नम्बर २ (ए) का दिवस राना म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै वार्ड नम्बर २ (ए) क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी देवदह नगरपालिकाकी उपमेयर विद्या लक्ष्मी गुरुङले गरेकी थिईन । सो अवसरमा विशिष्ठ अतिथी देवदह वार्ड नम्बर २ का वार्ड अध्यक्ष दल बहादुर राकसकोटी, आयोजक समितिका अध्यक्ष नारायण शर्मा, देवदह वार्ड नम्बर १ का वार्ड अध्यक्ष दिपक नेपाल तथा देवदह वार्ड नम्बर ३ का वार्ड अध्यक्ष्ँ यज्ञ प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।

देवदह नगरपालिका भित्रका कुल ११ वार्डका फुटबल टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक यम बहादुर पचभैया मगरले जानकारी दिए ।

Post Comments