
काठमाडौं (एजेन्सी) । एएफसी महिला एसियन कप छनौट प्रतियोगितातर्फ समूह ए को खेलहरु सोमबारबाट आधिकारिक रुपमा शुरु भएका छन् ।
उद्घाटन खेलमा दक्षिण एसियाली राष्ट्र भुटानले उत्कृष्ट जितका साथ प्रतियोगितामा विजयी शुरुवात गर्यो । जोर्डनको राजधानी अम्मानमा भएको समूह ए को उद्घाटन खेलमा १७१औं वरियताको भुटानले १३९औं वरियताको सिंगापुरलाई ३–२ ले हरायो ।
किंग अब्दुला स्टेडियममा भएको खेलको पहिलो मिनट मै येशे विधाको गोलबाट भुटानले खेलमा अग्रता बनाएको थियो । तर लगतै १०औं मिनटमा आर्धरा गणेश्वरनले सिंगापुरका लागि बराबरी गोल फर्काएकी थिईन् ।
२६औं मिनटमा दोर्जी एडनले आत्मघाती गोल गर्दा खेलमा भुटान १–२ ले पछि पर्न पुग्यो । यद्यपि भुटानी टोलीले दोस्रो हाफमा भने रोमाञ्चक पूनरागमन गर्यो । आत्मघाती गोल गरेकी दोर्जी एडनले नै भुटानका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याईन् । त्यस्तै ८७औं मिनटमा सुनिता राईले गरेको तेस्रो गोल सिंगापुरलाई स्तब्ध बनाउन निर्णायक गोल बन्यो ।
समूह चरणतर्फ भुटानले आफ्नो दोस्रो खेल १० जुलाईका दिन लेबनानसँग खेल्नेछ । सोही दिन सिंगापुरले भने इरानको सामना गर्नेछ । समूह ए मा आयोजक जोर्डनसहित भुटान, लेबनान, इरान र सिंगापुर रहेका छन् ।