News एकतर्फी जितका साथ सुनवल ३ फाइनलमा
सुरज राना मगर

सुनवल । एकतर्फी र फराकिलो जितका साथ सुनवल ३ यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनवल ३ ले सुनवल १३ लाई शून्यका विरुद्ध ६ गोलको अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

सुनवल ३ को जितमा तनिष गुरुङ्ग र रेशम गुरुङ्ग दुई–दुई गोल गरे भने थप दुई गोल राम बहादुर थापा र सुशन शाहीले गरे । खेलमा सुनवल ३ कै राम बहादुर थापा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत जेठ २ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल घरेलु टोली सुनवल ७ र सुनवल ८ बीच हुने खेल संयोजक प्रकाश बाह्रघरे मगरले जानकारी दिए ।

सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।

Post Comments