
रामधुनी । रोमाञ्चक जितका साथ न्यु स्टार क्लब, भरौल यहाँ जारी तेस्रो सामधुनी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको चौथो क्वाटरफाइनलतर्फ न्यु स्टारले मेघा स्पोर्ट्स एकेडेमी, बिराटनगरलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
न्यु स्टारका लागि सचिन राई र अर्जुन कुवँरले गोल गरे । पराजित मेघा स्पोर्ट्सका लागि भने राजकुमार चौधरीले एक मात्र गोल फर्काएका थिए । खेलमा न्यु स्टारका सचिन राई म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुस ३ गते बुधबारको पहिलो सेमिफाइनल खेल च्यात्यसा फुटबल क्लब, दमक र एपिएफ पकली बीच हुने आयोजकले जानकारी दियो ।
उदियमान युवा क्लब, रामधुनी–९, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ सय हात पार्नेछ भने उपविजेताले ५० हजार १ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।