
काठमाडौं । मंगलबार अबेर राती कतारको दोहामा सम्पन्न प्रतिष्ठित फिफा दि बेस्ट फुटबल अवार्डतर्फ पुरुषको वर्ष खेलाडी ब्राजीलका भिनिसियस जुनियर बन्दा महिलातर्फ स्पेनकी आइताना बोनमति बनेकी छिन् ।
त्यसबाहेक पुरुष तथा महिला गोलरक्षकसँगै पुरुष तथा महिला प्रशिक्षक तथा अन्य बिधातर्फ पनि वर्षका उत्कृष्टहरु बनेका थिए । यी अवार्डहरुका लागि फिफाले आफ्ना सदस्य राष्ट्रहरुका कप्तान, प्रशिक्षक र एक खेलपत्रकारलाई भोट गर्ने अधिकार समेत दिएको थियो ।
जसमा पुरुषतर्फ नेपालका कप्तान किरन जेम्जोङले पहिलो, दोस्रो र तेस्रोमा क्रमशः इङल्याण्डका जुड बेलिङ्घम, स्पेनका लामिन यमल र जर्मनीका फ्लोरियन विर्जले भोट दिएका थिए । प्रशिक्षक नबिन न्यौपानेले लामिन यमल, रोड्री र भिनिसियस जुनियरलाई भोट दिएका थिए भने खेलपत्रकारतर्फ नेपालका वरिष्ठ खेलपत्रकार बिक्रम थापाले भिनिसियस जुनियर, रोड्री, काइलन एम्बाप्पेलाई भोट हालेका थिए । पुरुषतर्फको यो अवार्ड ब्राजीलका भिनिसियस जुनियरले हात पारेका थिए ।
त्यस्तै महिलातर्फ कप्तान अन्जिला तुम्बापो सुब्बाले जाम्बियाकी बारबरा बान्डा, इङल्याण्डकी लुसी ब्रोन्ज र अमेरिकाकी नाओमी गिर्मालाई भोट हालेकी थिईन् ।
त्यस्तै प्रशिक्षक राजेन्द्र तामाङले जमैकाकी खडिजा श, अमेरिकाकी लिन्डसे होरान र अमेरिका कै नाओमी गिर्मालाई भोट हालेका थिए । त्यसैगरी खेलपत्रकार बिक्रम थापाले स्पेनकी आइताना बोनमती, नर्वेकी क्यारोलिन ग्राहम हेनसेन र अमेरिकाकी लिन्डसे होरानलाई भोट हालेका थिए । महिलातर्फको यो अवार्ड भने स्पेनकी आइताना बोनमतीले हात पारेकी थिईन् ।
पुरुष गोलकिपरतर्फ नेपालका कप्तान किरनले इटालीका जियानलुइगी डोनारुम्मा, अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र ब्राजीलका इडरसनलाई भोट हालेका थिए । प्रशिक्षक नबिन न्यौपानेले भने इमिलियानो मार्टिनेज, इडरसन र स्पेनका डेविड रायालाई भोट हालेका थिए ।
उता खेलपत्रकार बिक्रम थापाले इडरसन, जियानलुइगी डोनारुम्मा र युक्रेनका आन्द्रे लुनिनलाई भोट हालेका थिए । पुरुषतर्फ यो अवार्ड अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले जितेका थिए ।
त्यस्तै महिला गोलकिपरतर्फ नेपालकी कप्तान अन्जिला तुम्बापो सुब्बाले इङल्याण्डकी मेरी इयप्र्स, स्पेनकी काटा कोल । जर्मनीकी आन केटरिन बेर्जरलाई भोट हालेकी थिईन् । प्रशिक्षक राजेन्द्र तामाङले भने काटा कोल, अमेरिकाकी एलिसा नेहर र जापानकी आयका यामाशितालाई भोट दिएका थिए ।
त्यस्तै खेलपत्रकार बिक्रम थापाले भने एलिसा नेहर, काटा कोल, आन केटरिन बेर्जरलाई भोट दिएका थिए । यो अवार्डतर्फ भने अमेरिकाकी एलिसा नेहर उत्कृष्ट बनेकी थिईन् ।
त्यस्तै पुरुष प्रशिक्षकतर्फ नेपालका लागि किरन चेम्जोङले रियल मेड्रिडका कार्लो एन्सेलोटी, म्यानचेष्टर सिटीका पेप गार्डिओला र बायर लेभरकुजेनका जावी एलोन्सोलाई भोट हालेका थिए भने प्रशिक्षक नबिन न्यौपानेले जाबी एलोन्सो, पेप गार्डिओला र स्पेनिस प्रशिक्षक लुइस डे ला फुन्टेलाई भोट हालेका थिए ।
उता खेलपत्रकार बिक्रम थापाले भने कार्लो एन्सेलोटी, पेप गार्डिओला र जाबी एलोन्सोलाई भोट हालेका थिए । यो अवार्ड भने रियल मेड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले जितेका थिए ।
त्यसैगरी महिला प्रशिक्षकतर्फ नेपालकी कप्तान अन्जिलाले फ्रान्सकी सोनिया बोमपास्टर, इङल्याण्डकी एम्मा हायेज र फ्रान्स कै सेन्ड्रिन सुबीरेन्डलाई भोट हालेकी थिईन् । प्रशिक्षक राजेन्द्र तामाङले भने सोनिया बोमपास्टर, जापानकी फुतोशी इकेदा र इङल्याण्डका गारेथ टेलरलाई भोट हालेका थिए ।
त्यस्तै खेलपत्रकार बिक्रमले एम्मा हायेज, सोनिया बोमपास्टर र स्पेनका जोनाथन जिराल्डेजलाई भोट हालेका थिए । यो विधातर्फ भने इङल्याण्डकी एम्मा हायेजले अवार्ड जितेकी थिईन् ।