ANFA भगवतीको जितमा सुरजको चार गोल
सुरज राना मगर

तानसेन । सुरज चौधरीले ह्याट्रिक सहित चार गोल गरेपछि उत्कृष्ट जितका साथ भगवती युवा क्लब जारी तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टुंडिखेल मैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ भगवतीले न्यु हिमाली युवा क्लबमाथि ५–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । भगवतीको जितमा सुरज चौधरीले चार गोल गर्दा थप एक गोल मिलन आलेले गरे । उता पराजित न्यु हिमालीका लागि बिमोत थापा मगरले एक मात्र गोल फर्काएका थिए ।

खेलमा चार गोल गरेका भगवतीका सुरज चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ ९ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल आयोजक न्यु युथ युनियन क्लब र मनोभाव फुटबल क्लबबीच हुने प्रचार प्रसार संयोजक अमृत केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।

Post Comments