Gorkhalis Abroad मलेसियामा प्रथम आरटीएफसी गोल्डकप सुरु
गोलनेपाल

क्वालालम्पुर । प्रवासी नेपालीहरुद्वारा स्थापित आरटिएफसी, मलेसियाको आयोजनामा शनिबारबाट प्रथम आर.टी.एफ.सी. गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।

खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि महामहिम राजदूत डा. नेत्र प्रसाद तिम्सिना, विशेष अतिथि एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, आरसी हरि भट्टराई, आईसीसी सदस्य टेक बी टमटा, नेपाली जनसम्पर्क समिति प्रवक्ता सरोज दाहाल, दूतावासका प्रथम सचिव बलिराम धामी, पत्रकार र संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा १७ वटा टिमहरूले भाग लिएका छन् । आयोजक क्लबका अध्यक्ष राजु तामाङले खेलको महत्व र आगामी दिनमा मलेसियामा रहेका नेपाली समुदायको खेलकुद र संस्कृतिको क्षेत्रमा गरिने योगदानको बारेमा जानकारी गराए । अध्यक्ष तामाङले प्रतियोगिता अवधिभर मलेसियामा रहेका नेपाली समुदायलाई अझ बढी खेलकुद र साँस्कृतिक क्षेत्रमा संलग्न गराउने लक्ष्य राखेको बताए । आरटिएफसी गोल्डकप मलेसियामा नेपाली खेलकुदको विकास र समुदायको एकता बढाउन महत्वपूर्ण कदमको रूपमा रहेको समेत अध्यक्ष तामाङले अवगत गराए ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई जनही ३००–३०० मलेसियन रिंगेट प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि नगद १०० मलेसियन रिंगेट प्रदान गरिने आयोजकले जनाएको छ ।

Post Comments