बेलका । तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत आज लेखाली खेलमैदान, बेलका नगरपालिकामा सम्पन्न खेलमा डाँडाबजार फुटबल क्लब धनकुटालाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै इस्ट स्टार स्पोर्टिङ क्लब मधुमल्ला सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित ५० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको थियो। प्रतियोगिताको निर्धारित समय २५–२५ मिनेटको दुई हाफ गरी जम्मा ५० मिनेट खेलाइएको थियो।
खेलको पहिलो हाफमा इस्ट स्टारले डाँडाबजारमाथि केही दबाब सिर्जना गरेको थियो। पहिलो हाफमै इस्ट स्टारका विदेशी खेलाडी बिन्देले वान भर्सेस वानको अवस्थामा दुईवटा उत्कृष्ट अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन्। क्रस बलमार्फत प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा इस्ट स्टार अग्रता लिनबाट चुकेको थियो।
यता डाँडाबजारले पनि पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन।
दोस्रो हाफमा भने डाँडाबजारले इस्ट स्टारलाई दबाबमा राख्दै लगातार आक्रमण र प्रहार गरेको थियो। तर इस्ट स्टारका गोलरक्षक युवराज तामाङले उत्कृष्ट प्रदर्शन गर्दै डाँडाबजारका प्रहारहरूलाई विफल बनाए।
निर्धारित ५० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
पेनाल्टी सुटआउटमा पनि खेल निकै रोमाञ्चक बन्यो। इस्ट स्टारको पहिलो प्रहार साइड पोलमा लागेर फर्किएको थियो भने डाँडाबजारले आफ्नो पहिलो प्रहारमा गोल गर्न सफल भयो। त्यसपछि डाँडाबजारका डिलेनको प्रहार पनि साइड पोलमा लागेर फर्कियो। तेस्रो प्रहारमा डाँडाबजारका प्रतीक गोल गर्न चुकेपछि इस्ट स्टारले उत्कृष्ट पुनरागमन गर्दै पेनाल्टीमा ३–२ को जित निकाल्न सफल भयो।
प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ हात पार्नेछ।