त्रियुगा । एकतर्फी जितका साथ गाईघाट युनाइटेड उदयपुरमा जारी दोस्रो एलेभेन स्टार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा गाईघाटले रौतामाई स्पोर्टस क्लबलाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
गाईघाटको जितमा दिलिप राईले चार गोल गर्दा सरोज राउतले दुई गोल गरे । उता पराजित रौतामाईका लागि चुडा मगरले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा चार गोल गरेका गाईघाटका दिलिप राई प्लेयर अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत असोज ५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल पानी ट्याङ्की युथ क्लब र सलिा स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।
एलेभेन स्टार युथ क्लब, त्रियुगा नगरपालिका–१०, करमगाछी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज १० गतेका दिन हुनेछ ।