स्थानीय खेलाडीहरुका लागि अविस्मरणीय बन्दै अशोक
सुरज राना मगर

बुटवल । रुपन्देहीको तिलोत्तमा नगर निवासी अशोक पुनको दैनिकी आफ्नो व्यस्त कामसँगै बढी समय फुटबल मैदान मै बित्ने गर्दछ । स्थानीय युवा फुटबल खेलाडीहरुको हित र उनीहरुको क्षमता अभिवृद्धिमा निरन्तर होमिएका पूर्व ए डिभिजन खेलाडी तथा युवा फुटबल अभियन्ता अशोकले बाल खेलाडीहरुलाई हौसलासँगै सहयोगका हात पनि बढाईरहेका छन् ।

आफ्नै व्यवस्थापनमा रहेको रुपन्देहीको सुपौली खेल मैदानमा बाल खेलाडीहरुलाई नियमित प्रशिक्षण दिईरहेका अशोकले प्रशिक्षण मै रहेका क्षमतावान चार खेलाडीहरुलाई हौसला प्रदान गर्न फुटबल बुट हस्तान्तरण गरेका छन् ।

अशोक भन्छन्, “क्षमता भएका युवा खेलाडीहरुले खेल्न खोज्छन् भने उनीहरुलाई खेल्ने वातावरण मिलाई दिनुपर्छ । फुटबलमा मेरो सानो साथले कसैको ठूलो खुशी फर्किन्छ भने त्यो साथलाई आउने दिनहरुमा पनि निरन्तरता दिईरहनेछु ।”

स्मरण रहोस, अशोक पुन रुपन्देहीको सक्रिय क्लब मध्ये एक समपुर्ण युवा क्लब, सुपौलीको पूर्व खेलाडी, पूर्व अध्यक्ष र हाल संरक्षक समेत हुन् । क्लबले अशोक पुनसँगकै सहकार्यमा विभिन्न प्रतियोगितामा निरन्तर सहभागिता जनाउने, सामाजिक कार्यमा सक्रिय रहने साथै वार्षिक रुपमा समपुर्ण कप राष्ट्रियस्तर कै फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आईरहेको छ ।

Post Comments