News लिस्नुलाई फाइनल पुर्याउन निरको निर्णायक गोल
सुरज राना मगर

बुटवल । साविक विजेता लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा लिस्नुले चाँदनी युवा क्लब, दानापुरलाई १–० ले हराउँदै उपाधि रक्षा गर्ने अभियान नजिक पुगेको हो । चारपाला रंगशालामा भएको खेलमा लिस्नुका लागि निर थापा मगरले एक मात्र निर्णायक गोल गरे ।

लिस्नुका निर्णायक गोलकर्ता निर थापा मगर नै खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत बैशाख २७ गते शनिबारको दोस्रो सेमिफाइनल खेल आयोजक इभोलुशन क्लब, तामनगर र फर्साटिकर युवा क्लब, फर्साटिकरबीच हुने आयोजकले जानकारी दियो ।

इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।

Post Comments