News शानदार जितका साथ कीर्तिपुर क्वाटरफाइनलमा
गोलनेपाल

ललितपुर । कीर्तिपुर नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बाटरफाइनलमा प्रबेश गरेको छ ।

गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलबार भएको एक मात्र खेलमा कीर्तिपुरले तारकेश्वर नगरपालिकालाई ५–० गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप दुई गोल इन्द्र बहादुर बस्नेतको नाममा रह्यो । ह्याट्रिक गरेका कीर्तिपुरका यमन मर्हजन खेलको म्यान अफ द म्याच चुनिए । उनलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि मर्हजनले ट्रफी र ५ हजार नगदको चेक हस्तान्तरण गरे ।

यो जितसँगै सेमिफाइनल प्रवेशका लागि कीर्तिपुरले मध्यपुर थिमि नगरपालिकासँग बैशाख २२ गते दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने भएको छ । स्मरण रहोस, मध्यपुर थिमि सोमबार मात्रै टोखा नगरपालिकालाई हराएर क्बाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Post Comments