
हेटौडा । संघर्षपुर्ण जितका साथ विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं शनिबार सम्पन्न छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
गौरीटार रंगशालामा भएको फाइनल भिडन्तमा एपिएफले न्युरोडटिम (एनआरटी) लाई सडन डेथमा हराउँदै उपाधि चुम्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा एपिएफले एनआरटीमाथि ५–४ को संघर्षपुर्ण जित निकाल्यो । विजेता बनेको एपिएफले उपाधिसहित नगद १५ लाख हात पार्यो भने उपविजेता एनआरटीले १० लाखमा चित्त बुझायो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा गत माघ १६ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।