पालुङ । थाहा नगरपालिका, मकवानपुरको आयोजना तथा शिखर क्लब, शिखरकोटको व्यवस्थापनमा सम्पन्न छैटौं थाहा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि कुर्दन फुटबल एकेडेमीले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा कुर्दनले चित्लाङ फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ कुर्दनका लागि अविरल रिजालले पेनाल्टीमार्फत गोल गरेका थिए भने चित्लाङका लागि बिसो हायुले गोल गरेका थिए । टाईब्रेकरमा भने कुर्दन ४–२ ले विजयी बन्यो ।
विजेता बनेको कुर्दन फुटबल एकेडेमीले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता चित्लाङ फुटबल क्लबले १ लाखमा चित्त बुझायो । कुर्दनका गोलरक्षक सन्तोष महत फाइनल खेलको प्लेयर अफ द म्याच बने ।
अन्य विधागततर्फ चित्लाङका अभिषेक खड्का उत्कृष्ट गोलरक्षक उत्कृष्ट डिफेन्डर कुर्दनका कमल श्रेष्ठ चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार चित्लाङका सन्तोष गोङबाले हात पार्दा सर्वश्रेष्ठ खेलाडी चित्लाङका सुरज गोले घोषित भए ।