
फापरबारी । रोमाञ्चक फाइनलमा जित हात पार्दै पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि भुटनिज युथ स्पोर्टस क्लब, अमेरिकाले जितेको छ ।
मंगलबार भएको उपाधि भिडन्तमा भुटनिजले संकटा क्लबलाई पेनाल्टी शुटआउटमा ८–७ ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । यो जितसँगै भुटनिज युथले संकटासँग पोखरा गोल्डकपमा बेहोरेको हारको बदला समेत लिएको थियो ।
त्यसअघि फापरबारी स्थित जनता माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलको शुरुवाती दश मिनट नाटकीय बनेको थियो ।
खेलको पहिलो मिनट मै प्रबिन बस्नेतले भुटनिजका लागि शुरुवाती गोल गरे । त्यसको पाँच मिनट लगतै प्रबिनले दोस्रो गोल समेत थपे । यद्यपि लगतै संकटा खेलमा फर्कियो । नवौं मिनटमा सुनिल बलले पहिलो गोल फर्काए भने २२औं मिनटमा पेनाल्टीबाट दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
पेनाल्टी शुटआउटमा भने अमेरिकी टोलीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । नेपाली भूमीमा भुटनिज युथको यो दोस्रो उपाधि समेत हो । यसअघि अमेरिकी टोलीले झापामा सम्पन्न प्रथम जय हुमागाई मेमोरियल गोल्डकपको उपाधि जितेको थियो ।
भुटनिज युथका गोलरक्षक पुजन थापा मगर फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । बागमती गोल्डकपको विजेता बनेको भुटनिज युथले उपाधिसहित नगद ८ लाख हात पार्यो भने उपविजेता संकटाले ४ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा गत पौष २४ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।