News ए डिभिजन लिगको मिति घोषणा, महिला फ्रेन्चाईज लिग पनि हुने
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको वार्षिक साधारण सभाले नयाँ आर्थिक वर्षका लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा केही महत्वपूर्ण निर्णय समेत गरिएको छ ।

काभ्रेको धुलिखेलमा सम्पन्न एन्फाको साधारण सभाले बहुप्रतिक्षित र लामो समयदेखि रोकिएको शहिद स्मारक ए डिभिजन लिगको मिति घोषणा गरेको छ । एन्फाका अनुसार ए डिभिजन लिग यस वर्ष पुष १ देखि वि.सं. २०८३ सालको जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै साधारण सभाले पहिलोपटक आयोजना हुन गईरहेको महिला फ्रेञ्चाईज लिगको मिति पनि घोषणा गरेको छ । जसअनुसार प्रतियोगिता मंसिर १५ गतेदेखि माघ १४ गतेसम्म चल्नेछ । साथै प्रतियोगितामा आठ टोलीहरुले सहभागिता जनाउने छन् ।

त्यसैगरी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको मिति पनि घोषणा गरिएको छ । एन्फाका अनुसार राष्ट्रिय महिला लिग भदौ २२ गतेदेखि शुरु हुनेछ । साथै महिला लिग तीन महिनासम्म चल्ने बताइएको छ ।

त्यसबाहेक नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आउँदो सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने साधारण सभाले निर्णय गरेको छ । त्यस्तै जेठमा एन्फा प्रेसिडेन्ट लिग, साउनमा शहिद स्मारक सी डिभिजन लिग छनौट, पुसमा सी डिभिजन लिग र फागुनमा बी डिभिजन लिग गर्ने बताइएको छ ।

त्यस्तै यस वर्ष फुटसल लिग छनौट, ए डिभिजन फुटसल लिग, एन्फा जिल्ला लिग, महिला फुटसल च्याम्पियन, एन्फा इन्टर कलेज फुटसल च्याम्पियनसिप, युथ लिग लगायतका प्रतियोगिताहरु पनि एन्फाले क्यालेन्डरमा सामेल गरेको छ ।

Post Comments