News तालिवानी त्रासमा चुँडिएको युवा फुटबलरको सपना
गोलनेपाल

काठमाडौं (एजेन्सी) । गत आइतबार तालिवानी समूहले अफगानिस्तानमा पूर्ण कब्जा जमाएको घोषणा गरेसँगै त्यहाँ रहेका प्रायः सबैजसो आम जनताहरुमा त्रास फैलिएको छ । कतिपय नागरिकहरु देश छोडी अन्यत्र भाग्न सफल पनि भएका छन् भने कतिपय त्रासका बीच अझै पनि देश छाडेर जान प्रयासरत छन् ।

तालिवानहरुको त्रासमा धेरैका सपनाहरु चुँडिन पुगेका छन् । कलिलो उमेरमा यस्तै एक सपना चुँडिएका पात्रा हुन् जाकी अनवरी । तालिवानको राजले फेरि शुरुवात गर्ने संकेत गरेसँगै त्यहाँ खेलकुद क्षेत्रसँगै खेलाडीहरु पनि त्रसित छन् । त्यहि त्रासलाई छिचोलेर अगाडी बढ्ने प्रयास गर्दा १९ बर्षे अनवरीको दुःखद निधन भएको छ ।

अफगानिस्तानको राष्ट्रिय युथ फुटबल टोलीबाट खेलिसकेका अनवरी पनि तालिवानको आतंकी त्रासमा थिए । त्रासका कारण उनी पनि अन्य नागरिकसरह अफगानिस्तान छाड्न हतारिए । काबुल एयरपोर्टमा देश छाड्नेहरुको भिडमा अनवरी पनि थिए ।

अमेरिकी बायुसेनाको जहाजको पखेटातर्फ असुरक्षित रुपमा चढेका अनवरी जहाजले केही माथिको उडान भरेसँगै तल खस्न पुगेका थिए । उनीसँगै अन्य एक जना पनि खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तल खसे लगतै अनवरीको मृत्यु भएको बताइएको छ । उनको मृत्युसँगै फेरि देशका लागि खेल्ने उनले साँचेको सपना पनि चुँडिएको छ ।

अनवरीको निधनबारे सम्बन्धित खेलकुद प्रशासनले बिहीबार पुष्टी गरिसकेको छ । दुःखको कुरा त, अनवरीको परिवारका अनुसार अनवरीका १६ बर्षे भाई पनि हराईरहेका छन् । परिवारको सम्पर्कमा नआएका उनका भाईको अवस्थाबारे पनि उनको परिवार थप चन्तित बनेको छ ।

Post Comments