News ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
गोलनेपाल

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट ५२ लाख ९६ हजार बढी रकम सङ्कलन भएको छ । लाखेजात्रा पर्वको अवसरमा आयोजित प्रतियोगितामा गेट टिकट र प्याकेज गरी जम्मा ५२ लाख ९६ हजार ९४८ रुपियाँ रकम सङ्कलन भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले शनिबार तोक्मेडाडाँमा पत्रकार सम्मेलनको आयोजना गरी आय व्यय सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । जसमा गेट टिकट बिक्रीबाट ३८ लाख २८ हजार ६५० रुपियाँ रकम सङ्कलन भएको छ भने प्याकेज टिकट बिक्रीबाट १४ लाख ८६ हजार २९८ रुपियाँ रकम सङ्कलन भएको लाखेजात्र सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार प्रतियोगिताको क्वार्टरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २०० रुपियाँ सङ्कलन भएको छ । क्वार्टरफाइनलका लागि दुई सय रुपियाँ टिकट दर निर्धारण गरिएको थियो । त्यस्तै, सेमिफाइनलमा दुई खेलबाट छ लाख पाँच हजार ७०० रुपियाँ र फाइनलमा टिकट बिक्रीबाट २० लाख ३३ हजार रुपियाँ सङ्कलन भएको शेर्पाले बताउनुभयो ।

सेमिफाइनलमा तीन सय रुपियाँ र फाइनलमा पाँच सय रुपियाँ टिकट दर निर्धारण गरिएको थियो । आयोजकले पुरा खेल हेर्नलाई न्यूनतम् तीन हजार रुपियाँको छुट्टै प्याकेज टिकट पनि बिक्री गरेको थियो । यसवर्ष विजेतालाई सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेतालाई तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

Post Comments