केएफसी जाजरकोटलाई दोस्रो शीतल चौरजहारी B-67 कपको उपाधि
गोलनेपाल

पश्चिम रुकुम। शीतल चौरजहारी नगरपालिका वडा नं २ रुकुम पश्चिम जिल्ला कर्णाली प्रदेशमा जारी दोस्रो शीतल चौरजहारी B-67 कप फुटबल प्रतियोगिता उपाधि खलङ्गा फुटबल क्लब जाजरकोटले हात पारेको छ। मङ्गलबार सम्पन्न उपाधि भिडन्तमा योङ स्टार फुटबल क्लब पश्चिम रुकुमलाई सडन डेथमा ६-५ गोल अन्तरले पराजित गरी उपाधि हात पारेको हो। निर्धारित समय ९० मिनेट सम्म खेल चल्दा दुवै टोलीहरूले गोल रहित बराबरी खेलेका थिए।

पेनाल्टी सुटआउटमा जाजरकोटका गोल रक्षक प्रतीक सुनारले दुई निर्णायक पेनाल्टी बचाउ गर्दै नायक बन्दा योङ स्टार लगातार दुई संस्करण निराश हुन पुगेको हो। दुबै टोलीबाट कुल आठ आठ प्रहार हुँदा जाजरकोटले ६ वटा प्रहारलाई गोल गर्दा योङ् स्टारले ५ वटा प्रहार मात्रै गोल गर्न सफल भयो। योङ् स्टारका गोल रक्षक मोतिराम सुनारले पनि जाजरकोटको एक प्रहर जोगाए तर टोलीको हार भने जोगाउन सकेनन्।

व्यक्तिगत विधातर्फ पनि खलङ्गा फुटबल क्लब जाजरकोटको बर्चस्व कायम रह्यो। प्रतियोगिताको उत्कृष्ट गोलकिपर जाजरकोटका प्रतीक सुनार सर्वाधिक गोलकर्ता सनम केसी त्यसैगरी प्रतियोगिताको उदयीमान खेलाडी योङ स्टारका प्रभात गिरी बनेका हुन। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने योङ स्टारका कप्तान अभिषेक रेग्मी बनेका हुन्।

विक्रम सम्वत २०६७ सालमा शीतल चौरजहारी रुकुममा रहेको शीतल माध्यमिक विद्यालयबाट एकसाथ रूपमा एसएलसी दिएका विद्यार्थीहरूले पुनः एकजुट हुँदै आयोजना गरेको यस प्रतियोगिताको नामाकरण नै शीतल चौरजहारी B-67 कप राखिएको हो।

कुल १० टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताको विजेता बन्दै खलङ्गा जाजरकोटले नगद रु.२ लाख ३० हजार १६७ रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतामा सिमित बन्दै योङ स्टारले नगद रु.१ लाख ३० हजार १६७ रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगिता कार्तिक ११ गतेबाट सुरु भएर कार्तिक १७ गते सभ्य र भव्य रुपमा सम्पन्न भएको हो।

Post Comments