News बगान युथ दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा
रमेश समदर्शी

झापा । कठिन जित निकाल्दै बगान युथ क्लब झापा डोमालाल राजवंशी रंगशालामा जारी दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोरङको बेलबारी एफसीसँग आज भएको तेस्रो क्वाटरफाइनल खेलमा बगान युथल १० गोलको साँघुरो जित निकालेको हो । बगान युथलाई झिनो गोलअन्तर निकाल्न खेलको ५५औँ मिनेट पर्खनु परेको थियो ।

बगान युथका लागि हेमन लिम्बूले निर्णायक गोल गरेका हुन् । खेलको प्ेयर अफ दी म्याच बगान युथका सञ्जय लिम्बू भए । उनले नगद ३ हजारसहित ट्रफी पाए ।

उनलाई झापा गोल्डकपका बरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, खेलप्रेमी आशिष वन, आयोजक क्लबका अध्यक्ष भूपेन लिम्बू, खेल संयोजक अनिष सुवेदीलगायतले पुरस्कार वितरण गरे ।

भोलि -बुधबार) आयोजक बिर्तामोड युनाइटेड एफसीले चन्द्रगढी एफसीसँग अन्तिम क्वाटरफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्दा उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल र ट्रफी पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद तीन हजार र ट्रफी पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव सन्तोष राई जानकारी दिए ।

Post Comments