News तनावपूर्ण खेलबाट आयोजक बिर्तामोड युनाइटेड सेमिफाइनलमा
रमेश समदर्शी

झापा । तनावपूर्ण खेलमा जित निकाल्दै आयोजक बिर्तामोड युनाइटेड एफसी यहाँ जारी दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा चन्द्रगढी फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ४०औँ मिनेटमा बिर्तामोडका आशिष टुडुले गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी, ४३औँ मिनेटमा आशिषले नै व्यक्तिगत गोल गर्दै २-० गोलको अन्तर निकालेका हुन् । तर, ६८औँ मिनेटमा चन्द्रगढीका लागि रोहन सुब्बाले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए ।
यसैबीच, निर्धारित समय सकिएर थपिएको ६ मिनेटको खेल तनावपूर्ण रह्यो । रेफ्रीले आयोजक टिमको समर्थन गरेर गलत निर्णय दिएको भन्दै चन्द्रगढीका खेलाडी र अफिसियलहरुले खुलेरै विरोध गरे ।

मुख्य रेफ्री खेमराज श्रेष्ठमाथि अफिसियलहरु मैदानभित्रै छिरेर हातपातको अवस्थामा उत्रिएका थिए । तीन जना विदेशी खेलाडी लिएर उत्रिएको चन्द्रगढीका खेलाडीमाथि कार्डको वर्षा नै भएको थियो । खेललाई सामान्य बनाउन ४ वटा पहेँलो र २ वटा रातो कार्ड देखाउनु परेको थियो ।

चन्द्रगढीका कप्तान रोहन सुब्बाले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा विदेशी खेलाडी बाबा टोन्डेले विपक्षी खेलाडीमाथि गरेको असामान्य व्यवहारका कारण रातो कार्ड दिनुपरेको थियो ।

रेफ्रीको निर्णयविरुद्ध चन्द्रगढीका व्यवस्थापक दिपेश भण्डारीले हातपात गर्न मैदानभित्रै छिरेका थिए । त्यसपछि करिब १० मिनेट खेल अवरुद्ध भएको थियो ।

खेलको प्लेयर अफ दि म्याच दुई गोल गरेका बिर्तामोडका आशिष टुडू भए । उनले नगद ३ हजारसहित ट्रफी पाए । उनलाई खेलप्रेमी तथा प्रथम पुरस्कार सौजन्यकर्ता नेत्र श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

भोलि -बिहीबार) शनिश्चरे एफसी झापाले उर्लाबारी एफसी मोरङसँग पहिलो सेमिफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्दा उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल र ट्रफी पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद तीन हजार पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव सन्तोष राईले जानकारी दिए ।

अन्य विधागतर्फ उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

Post Comments