काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई फिफाको कार्यक्रममा सहभागी हुन मेक्सिको जाने क्रममा विमान चढ्न रोकिएको घटनाप्रति महासचिव राईले व्यक्तिगत रूपमा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै राईले यसलाई नेपाली फुटबलमा “तेस्रो पक्षको अनुचित हस्तक्षेप” भएको बताएका छन्। उनका अनुसार फिफा र एएफसीले पटक–पटक निर्देशन दिए पनि एन्फामाथिको हस्तक्षेप नरोकिएको र यस घटनाले फुटबल प्रशासनमाथि थप प्रश्न उठाएको छ।
राईले फिफाले विश्वका २११ सदस्य राष्ट्रका अध्यक्ष र महासचिवलाई निमन्त्रणा गरी विश्वकप उद्घाटन समारोहसँगै आगामी चार वर्षको बजेट तथा विकास कार्यक्रमबारे छलफल गर्ने महत्वपूर्ण अवसर रहेको उल्लेख गरेका छन्। उनले राखेपलाई यसबारे जानकारी गराइएको भए पनि आफूहरूको कुरा नबुझिएको बताएका छन्।
पूर्वसूचना हुँदाहुँदै पनि निर्धारित समयमै विमानस्थल पुगेको र कार्यक्रममा सहभागी हुन नसक्दा फिफाबाटै प्रश्न उठ्ने अवस्था आउने राईको भनाइ छ।
राईले सरकारप्रति व्यक्तिगत गुनासो नरहे पनि यस्तो घटनाले फुटबल विकासमा अवरोध पुग्ने बताएका छन्। साथै, पूर्व एन्फा नेतृत्वलाई संकेत गर्दै फुटबललाई निलम्बनको जोखिमतर्फ धकेल्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान