News मिक्वाखोला प्रथम शहिद कपको सेमिफाइनलमा
गोलनेपाल

मिक्वाखोला । घरेलु टोली मिक्वाखोला गाउँपालिका, थलङ ताप्लेजुङमा जारी प्रथम शहिद कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ मिक्वाखोलाले पाथीभरा याङवरक गाउँपालिका, थेचम्बुलाई ५–१ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

मिक्वाखोलाको जितमा बिरेन साँवा, पुर्ण फेम्सोहाङ,  मनि थलङ, केवल साँवा र बिर फेमसोहाङले समान एक–एक गोल गरे । उता पराजित पाथीभरा याङवरकका लागि भने भिया लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा मिक्वाखोलाका विरेन साँवा म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ १८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आठराई त्रिवेणी गाउँपालिका, हाङपाङ र सिदिङ्वा गाउँपालिका, साब्लाखु बीच हुने आयोजकले जानकारी दियो ।

योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल), मिक्वाखोला गाउँपालिका कमिटी, ताप्लेजुङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ । फाइनल खेल भने यही माघ २१ गतेका दिन हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन मिक्वाखोला गाउँपालिका, ताप्लेजुङका उपाध्यष डन्डु लामा लगायतले गरेका थिए ।

Post Comments