News सिरिजंगा गोल्डकपमा आयोजक तेल्लोकको विजयी सुरुवात
रमेश समदर्शी

आयोजक तेल्लोक स्पोर्टिङ क्लबले सिरिजंघा गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

आजदेखि सुरु पाँचौ संस्करणमा इलामको रेडहर्ष एफसीलाई पराजित गरेको हो । तेल्लोक माविको मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा इलामलाई टाइब्रेकरमा ५-३ गोलअन्तरले पराजित गर्दै आयोजकले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल टाइब्रेकरमा पुगेको हो । आयोजकका लागि दिपेश लिम्बूले गोल गर्दै अग्रता बनाएका थिए ।

तर, इलामका लागि विनोद धमलाले बराबरी गोल फर्काए । इलामका लागि अर्जुन गुरुङ, विवेक सुनाम र विनोद धमलाको मात्र गोल भयो भने सुदिप लिमबूको प्रहार तेल्लोकका गोलरक्षक पर्वत लिम्बूले रोकेका थिए । तेल्लोका लागि सुनियोजित याक्सो, सुशन थेवे, दिपेश लिम्बू, प्रनिष गुरूङ र सविन लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । खेलको प्लेयर अफ दी म्याच तेल्लोकका गोलरक्षक पर्वत लिम्बू भए । उनलाई जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष गणेश मावोले नगद २ हजार ५ सय प्रदान गरे । भोलिको खेल न्यू स्टार क्लब झापाले भारत सिलिगुडीको पारिजात फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।

गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५(५ हाजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताए ।

Post Comments