ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं २ लेकुवा ढुङ्गेसाँघु स्थित ठोट्ने सिंगराज मनरानी आधारभूत विद्यालयको 7A साईडको प्राङ्गणमा चासोक तङ्नामको अवसर पारी लालीमा युवा क्लबको आयोजनामा जारी तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिताका सम्पुर्ण क्वार्टर फाइनल खेल सम्पन्न भएका छन्।
मङ्गलबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा हाङ्थुम क्लब मादी सङ्खुवासभालाई सडन डेथमा पराजित गर्दै कुम्मायक स्पोर्टिङ पाँचथर सेमिफाइनलमा प्रवेश गरेको हो। समान ३/३ गोलको बराबरीमा टुङ्गिएको उक्त खेल पेनाल्टी सुट आउट हुँदै सडन डेथमा धकेलिएको थियो। कुम्मायक स्पोर्टिङ पाँचथरका लागि दिल सम्बाहाम्फेले दुई गोल गरेका थिए भने सेम्सिङ लावतीले एक गोल गरेका थिए। संखुवासभाका लागि बसन्त ओझा,पारस जिमी र विकेन देवानले समान एक एक गोल गरेका थिए। पेनाल्टी सुटआउटमा कुल पाँच पाँच प्रहार हुँदा दुवै टोलीबाट पाँच पाँच गोलहुँदै खेल सडन डेथमा धकेलिएको हो। सडन डेथमा संखुवासभाको दोस्रो प्रहारलाई पाँचथरका गोल रक्षक रोचक लावतीले रोक्दै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराएका हुन्। उक्त खेलको नायक बन्दै रोचक लावतीले २००० सहित ट्रफी पनि प्राप्त गरेका छन् ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमलाई दुई का विरुद्ध चार गोलले स्तब्ध पार्दै योङ बोइज धरान सुनसरी सेमीफाइनलमा प्रवेश गरेको छ।
डिम्पल भण्डारीको गोलसँगै अग्रता लिएको म्याङ्लुङले उक्त अग्रतालाई जोगाउन नसक्दा पराजय बेहोरेको छ। म्याङ्लुङका लागि डिफेन्डर सुवास तामाङले पनि एक गोलको योगदान दिएका थिए। धरानका लागि पेरिस केसी र सेसेहाङ लिम्बुले समान दुई दुई गोल गरेका हुन्। उक्त खेलमा प्रभावशाली खेल पस्किएका सेसेहाङ लिम्बु खेलको नायक बन्दै नगद २००० सहित ट्रफी पनि प्राप्त गरेका छन्।
बुधबार पहिलो सेमिफाइनल प्रगतिशील युवा क्लब ताप्लेजुङ र कुम्मायक स्पोर्टिङ पाँचथर दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन् भने, दोस्रो सेमीफाइनल खेल लालिगुराँस स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र योङ बोइज धरान सुनसरी दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको बिजेताले नगद रु १ लाख ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले ९० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरू रहेका छन्।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई