News मोन्स्टर गाईज प्रथम भैरव कपको सेमिफाइनलमा
सुरज राना मगर

नयाँगाउँ । मोन्स्टर गाईज, सुनवल रुपन्देहीमा जारी प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मोन्स्टर गाईजले लिस्नु युवा क्लब, कोटिहवालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सिद्धार्थनगर–१, नयाँगाउँ स्थित पक्लिहवा माविको खेलमैदानमा भएको खेलमा मोन्स्टरका लागि पहिलो हाफको १९औं मिनटमा तनिष गुरुङले गोल गरे भने दोस्रो हाफको १६औं मिनटमा निखिल पुनले गोल गरेका थिए ।

खेलमा मोन्स्टर गाईज कै सरोज दर्लामी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर २३ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने खेल संयोजक तेजेन्द्र गुरुङ (शक्ति) ले जानकारी दिए ।

भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँ, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २७ गतेका दिन हुनेछ ।

Post Comments