News साफ महिला क्लब च्याम्पियनसिपः ईस्ट बंगालको उत्कृष्ट शुरुवात, कराँची सिटीको लगातार दोस्रो बराबरी
गोलनेपाल

काठमाडौं । जारी वात्सल्य प्रथम साफ महिला क्लब च्याम्पियनसिपतर्फ भारतको ईस्ट बंगाल फुटबल क्लबले उत्कृष्ट जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा ईस्ट बंगालले भुटानको ट्रान्सपोर्ट युनाइटेडमाथि ४–० को प्रभावशाली जित निकाल्यो । ईस्ट बंगालको जितमा फजिला इक्वापुटले दुई गोल गरीन् भने सुलन्जना राउल र रेस्टी नन्जिरीको नाममा एक–एक गोल रह्यो ।

यो जितसँगै ईस्ट बंगालले पनि महत्वपूर्ण तीन अंक जोडेको छ । पराजित ट्रान्सपोर्ट युनाइटेडको खातामा एक अंक छ । ट्रान्सपोर्टले आफ्नो पहिलो खेलमा पाकिस्तानको कराँची सिटी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा कराँची सिटीले बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । कराँची सिटीको दुई खेलबाट २ अंक भएको छ । उता पहिलो खेलमा नेपालको एपिएफ एफसीसँग पराजित नसरिनले पनि सोमबार आफ्नो खातामा अंक जोड्न सफल भएको छ ।

एपिएफले आफ्नो दोस्रो खेल ११ डिसेम्बरका दिन ट्रान्सपोर्ट युनाइटेडसँग खेल्ने कार्यक्रम रहेको छ । सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

 

Post Comments