फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । रोमाञ्चक र प्रतिस्पर्धात्मक जित हात पार्दै साउदी प्रो लिग क्लब अल हिलाल जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न छैठौं प्रिक्वाटरफाइनलमा अल हिलालले साविक विजेता म्यानचेष्टर सिटीमाथि ४–३ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

अमेरिकी शहर ओर्लान्डोमा सम्पन्न खेलमा शुरुवाती अग्रता भने सिटीले नै लिएको थियो । खेलको नवौं मिनटमा बर्नार्डो सिल्वाको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो । तर ४६औं मिनटमा मार्कस लियोनार्डोले हिलालका लागि बराबरी गोल फर्काएका थिए ।

५२औं मिनटमा मालकमले हिलाललाई खेलमा २–१ को स्थितिमा लयाए । तर, त्यसको तीन मिनट लगतै ५५औं मिनटमा इर्लिङ हालाण्डले सिटीका लागि गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याए । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।

अतिरिक्त समयको ९४औं मिनटमा कलीदु कुलीबेलीले हिलालका लागि तेस्रो गोल गरे । तर, पनि साउदी क्लबले त्यो अग्रता जोगाउन सकेन । १०४औं मिनटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गर्दै खेललाई थप रोमाञ्चक मोडमा ल्याए । खेल टाईब्रेकरतर्फ जाने अवस्थामा रहँदा ११२औं मिनटमा मार्कस लियोनार्डोले व्यक्तिगत दोस्रो तथा अल हिलालका लागि चौथो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

अल हिलालले अब पहिलो क्वाटरफाइनलतर्फ जुलाई ४ तारीखका दिन ब्राजिलियन कलब फ्लुमिनेन्ससँग खेल्नेछ । यसअघि फ्लुमिनेन्सले इटालियन क्लब इन्टर मिलानलाई २–० ले स्तब्ध पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments