
पोखरा । झिनो अन्तरको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं जारी २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले चर्च ब्वाईज युनाइटेड क्लबलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । पोखरा रंगशालामा भएको खेलको ५८औं मिनटमा सञ्जिव लामाले गरेको एक मात्र गोल पुलिसलाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो ।
निर्णायक गोलकर्ता सञ्जिव लामा नै म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन १ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल ब्ल्याक बुल्स एफसी, उज्वेकिस्तान र थ्रीस्टार क्लब, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।