
इटहरी । पेनाल्टी शुटआउटमा जित निकाल्दै हाम्रो राजारानी भेट्रान क्लब, धनकुटा यहाँ जारी पाँचौं इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ हाम्रो राजारानी भेट्रानले बर्मिक नाम्फिङ भेट्रान क्लब, सिक्किमलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ हाम्रो राजारानीका लागि दुवै गोल कृष्ण शाक्यले गरे भने बर्मिक नाम्फिङका लागि दुवै गोल सोनाम भुटियाले गरे ।
खेलको म्यान अफ द म्याच भने हाम्रो राजारानी भेट्रानका कृष्ण शाक्य घोषित भए । प्रतियोगिता अन्तर्गत माघ ८ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल टि.डब्ल्यु.वाई.सी. भेट्रान क्लब, मोरङ र दमक लखनपुर भेट्रान क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।
हाम्रो इटहरी भेट्रान क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १२ गतेका दिन हुनेछ ।