News पुलिसलाई ललित स्मृति युथ लिगको उपाधि
गोलनेपाल

काठमाडौं । शुरुवातबाटै प्रभावशाली प्रदर्शन गर्दै आएको विभागीय टोली नेपाल पुलिस क्लबले एक खेल बाँकी छँदै जारी ललित स्मति यु–१८ युथ लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

लिगको आफ्नो २१औं चरणको खेलमा पुलिसले मंगलबार चर्च ब्वाईज युनाइटेडलाई २–१ ले हराएपछि एक खेल अगावै च्याम्पियन बन्न सफल भएको हो । पुलिसले २१औं खेल खेल्दासम्म १५ खेलमा जित, ३ मा बराबरी र ३ मा हार बेहोरेको थियो ।

यो जितपछि २१ खेलबाट ४८ अंक जोडेको पुलिस शिर्ष स्थानमा छ । पुलिसलाई पछ्याइरहेको एनआरटी भने २१ खेलबाट ४४ अंकका साथ दोस्रो स्थानमा छ । एनआरटीले मंगलबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबलाई ६–१ ले हरायो । तर, पनि दोस्रो स्थान मै रहन बाध्य बन्यो ।

मंगलबार नै भएका अन्य खेलहरुमा थ्रीस्टारले एपिएफलाई २–० ले हरायो । यो जितपछि २० खेलबाट ३७ अंक जोडेको थ्रीस्टार भने लिगतालिकाको चौथो स्थानमा छ । तेस्रो स्थानमा भने २० खेलबाट ३९ अंक जोडेको संकटा रहेको छ । तेस्रो स्थानको होडमा संकटा र थ्रीस्टारको चुनौति कायम छ ।

Post Comments