News भुजि लिग रनिङ सिल्डको २८औँ संस्करण सुरु, पहिलो दिन ६ खेल सम्पन्न,
गोलनेपाल

रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिका–७ स्थित अमृत घामछायाँ खेलमैदानमा २८औँ भुजि लिग रनिङ सिल्ड फुटबल प्रतियोगिता २०८३ मंगलबारदेखि सुरु भएको छ। फुटबल क्लब भुजि (एफसीबी) को आयोजनामा तथा उमाकुण्ड गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको पहिलो दिन लिग चरणका ६ खेल सम्पन्न भएका छन्।

प्रतियोगिताको उद्घाटन दिन यलुङ एफसी, लिबुरा एफसी, टिम जिरी, एनटी एफसी र सुनुवार युनाइटेडले जित निकाल्दा एफसीबी ‘ए’ र खिजिदेम्बा–३ बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

पहिलो खेलमा यलुङ एफसीले एफसीबी ‘बी’ लाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गर्‍यो। दोस्रो खेलमा लिबुरा एफसीले साइपु एफसीलाई १–० गोलले हरायो। त्यसैगरी, तेस्रो खेलमा टिम जिरीले उमाकुण्ड–६ लाई समान १–० गोलअन्तरले पराजित गर्‍यो।

चौथो खेलमा एफसीबी ‘ए’ र खिजिदेम्बा–३ ले गोल गर्न नसक्दा दुवै टोलीले अंक बाँडे। पाँचौँ खेलमा एनटी एफसीले खुबु–३ माथि ५–० गोलको शानदार जित निकाल्दै पहिलो दिनकै फराकिलो जित दर्ता गर्‍यो। दिनको अन्तिम खेलमा सुनुवार युनाइटेडले उमाकुण्ड–४ लाई २–० गोलले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ४८ हजार ८२८, एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङ सिल्डसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले नगद रु. ७४ हजार ८२८ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही रु. १८ हजार ८२८ प्राप्त गर्नेछन्।

कुल १५ टोलीको सहभागिता रहेको प्रतियोगिताका बाँकी लिग चरणका खेल बुधबारदेखि निरन्तर सञ्चालन हुनेछन्। प्रतियोगिताको फाइनल खेल कात्तिक १५ गते सम्पन्न हुनेछ।

Post Comments