News २५औं आदर्श कपः एन्फा कास्की ११ फाइनलमा
उमेश पुन

पोखरा । संघर्षपुर्ण जितका साथ एन्फा कास्की ११ जारी २५औं आदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलतर्फ कास्कीले आयोजक आदर्श युवा क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि लेखनाथ रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने कास्कीले आदर्शमाथि ४–३ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो । खेलमा कास्कीका गोलरक्षक आयुष्मान गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंसिर २७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल एन्फा गोरखा र एपिएफ, गण्डकी मुख्यालय बीच हुने आयोजकले जानकारी दियो ।

आदर्श युवा क्लब, पोखरा९२९, भण्डारढिक, सैनिकवस्तीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४२५५२५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२५५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर २९ गतेका दिन हुनेछ ।

 

Post Comments